Thursday, June 23, 2016



लेखक:धर्मचन्द्र योञ्जन तामाङ 


जब कालो बादलको खोस्टो ओडेर प्रकृतिले झमझम बर्षा बर्षाउन थाल्छिन अनि सुरु हुन्छ किसानहरुको महान पर्व असारे रोपाइँ। मुठी खाएर मुरी उब्जाउने सिर्जना अनि कामको चटारोले आक्रान्त भए पनि मन नथाक्ने उत्साहको याम हो असार । त्यसैले त असारे झरीमा रुझेर हरेक बर्ष किसानहरु रोपाइँको आनन्द लुट्ने गर्दछन्। भनिन्छ असारमा रुझ्नेको आनन्द किसानहरुलाई मात्र थाहा हुन्छ । असारको महिना,लामो दिन,छोटो रात । एक हरिस दुई जुवा माथि आइसकेको हुन्छ घाम, म उठेर आङ तन्काउँदा। झाल्को पर्दा खोलेर हेर्छु, घाम अघि नै छिप्पिसकेको हुन्छ । खोपोङ,नगरकोट अनि बुँदी सबैतिर सुनौलो घाम छरिएर घमाईको भएको हुन्छ । अहो! यो उषाकालिन धर्ती कति सुन्दर देखिएको हँ ? म प्रकृतिको सुन्दरताले मोहित हुन्छु । रातभरी पानी परेको छ। बिहान पनि आकाश सफा छैन।बादलको पर्दा फाटेको ठाँउबाट घामले धर्ती चिहाउँदै छ । आद्र धर्तीमा न्यानो घाम पोखिएको छ। सम्झन्छु सानो बस्ती फलाँटे म बसेको ठाँउबाट नजिक छ ।



दोलालघाटको स्टिल ट्रस्ट पुल अनि वल्लो चाइनिज पुल तरेर त्यो कोसिपारीको भुम्लुबेशी (फलाँटे) फाँटका खेतका गह्रा-गह्रामा भएको असारे रोपाइँको याद अरनिको लोकमार्ग हुँदै मेरो मानसपटलमा असरल्ल आइरहेछन।संगैको अरु दौँतरीहरु कसरी सम्झिँदा हुन असारलाई ?

कहाँ होलिन् ती उर्साङ, पेमा, छ्योइसाङ लगायतका रोपारहरु ? जसको गालामा मैले हिलो दलेको थिँँए । अनि कहाँ होलान् मेरा दौँतरी बाउसेहरु। मलेसिया, साउदी, कतार तिर पो छन् कि कि कतै जापान, अमेरिका, अस्टे्रलिया तिर ? म त यता शहरमा रुमल्लिरहेको छु ।गाउँमा खेत बाँझो होला,बारीहरु जङ्गलमा परिणत भैसकेका होलान् । यता खोपोङ(भक्तपुर) शहरका खेत कंक्रीटको जंगलमा फेरिदैछन्, याम्बु(काठमाडौं)को त कुरै नगरौं दाम्बुलिङ(छिचिमिरा) सरि छन् मान्छेहरु, अनि तिनै साम्बुलिङ सरि मान्छेहरु बस्ने जङ्गल पनि त त्यही संख्यामा हुनै पर्‍यो।


रातभरिको सिमसिम पानी, अनि त्यसमाथि बिहानीको सुनौलो घाम फलाँटे फाँटमा पोखिँदा नयाँ दुलही झैँ देखिएको होला। अहिले त्यस फाँटमा खेतका गह्रैभरी मान्छे सल्बलाउन थालेको होलान् । फलाँटे लगायतका कोसिपारीका किसानहरु सबैलाई मुरी भित्र्याउने सपना बोकेर मानो रोप्ने असारको चटारोले छोपिसकेको होला । म सन्झन्छु यतिखेर कोहि खेतका गह्रामा पानी मलाउँदैछन्। कोहि 'ह ह ह तारे-माले उभो आइज होर' भन्दै जोतीरहेका छन् ।कोहि खनिरहेका छन् ।कोहि आली लगाइरहेका छन् । कोहि बीउ काड्दैछन् ।अनि यहाँ खोपोङ शहरमा बाँकी रहेका केही खेतीयोग्य जमिनमा खेतिपाती लगाउने किसानहरुको चहलपहल देख्दा लाग्छ मेरो कोसिपारी फलाँटेमा पनि भरे दिउँसो रोपाइँ छ। मान्छेहरु यताउता यताउता हिडिरहेका छन्, सल्बलाइरहेका छन्। मेरा मनभित्र पनि फलाँटे कुनै समयमा गरिएका रोपाइँको यादहरुको चटारो चलिरहेको छ।



खेतको फाँटमा मान्छेको चहलपहल, आलीबाट पानी झरेको दृश्य,आद्र धर्ती अनि सिमसिम पानी सबैले मेरो स्मृतिमा गाउँ ल्याइदिन्छन्। मेरो मनका नागबेली अरनिको लोकमार्गको बाटो हुँदै त्यो फाँटमा बितेका मेरा ती बाल्यकालीन स्मृतिहरु ह्वारह्वार्ती झ्यालबाट मकहाँ छिर्छन। म न्यानो स्वागत गर्छु भोइमोसंगै लाठे अनि रोपार बनेर गएका ती दिनहरुका स्मृतिलाई। अनि सपनीमा धित मर्ने गरि डुल्छु आफू हुर्किबढेको पहाडी खेत फलाँटेमा। हामी त पहडी मान्छे,तराईमा वा उपत्यकामा घुम्दा-फिर गर्दा त सबै खेतैखेत पो देखिन्थ्यो। पहाडमा खेत भन्दा बारी धेरै हुन्छ। त्यसैले खेतको महत्त्व धेरै हुन्छ। भिरालो पाखामा आली बारिएका ती खेतका गह्राहरुले हामीले खाने अन्न मात्र फलाएनन, हामीलाई हुर्किन पनि सिकाए। दौँतरी चिनेको,लुकामारी र डुम खेल्न सिकेको, गीत गाउन सिकेको, चोर-पुलिस खेल्ने सिकेको अनि लाप्पा खेल्न शुरु गरेको त्यहीँ त हो नि।



मलाई त लाग्छ तिनै खेलका साँघुरा गह्राहरुले सिकाएका बाल्यकाल भन्नू जम्मै सिक्नु जस्तै रहेछ। के सिकिएन हौ गाँठे खेतमा बसेर। कति सम्झनाहरु त मेरा यी मानसपटलमा अझै ताजै छ। कतिपय साथीहरुले त स्कुसको सुकेको पात भेला पारी अँगेरिको पातमा बरेर बिंडी खाएनन कि! 

कसै-कसैले त बाको खल्तीमा भएको खुकुरी चुरोट पनि उडाए। अनि पछि थाहा पाउदा राम धुलाई पाएनन् की! आम्मा हो के चिज सिकाएन खेतले? अहिले सम्झंदा लाग्छ जे सिकियो खेतमै सिकियो। उपद्रो पनि खेतमै सिकियो।


मलाई याद छ त्यसबेला म भर्खर स्कुल जाने थालेको थिएँँ। उ बेलामा त ७ वर्षमा स्कुल भर्ना भएको थिएँँ अरे। एकपटक चोर पुलिस खेल्दा भुमेडाँडाकि गणेशकुमारी ठुली आमाको दाउराको कुन्युँँ लडायौं। आजसम्म थाहा छैन हामी तीन - चार जना बाहेक अरुलाई त्यो कुन्युँँ कस्ले लडाएको हो। हाम्रो भन्दा तल रातेमाटे गाउँका भुजेल अनि भुमेडाँडाका खरेल साथी हरु टिमै लिएर तेर्सिन्थे। भुम्लोवेशीका तामाङ र गिरी साथीहरु पनि टिम बनाएर आउँथे।हामी पनि जुरेडाँडाको योञ्जन बस्तीबाट बीच खेतमा जान्थ्यौं। फाँटका बीचमा भुजेल गाउँ थियो।अनि फाँटसंगै जोडिएको अर्खौलेको भुजेल र मध्य फलाँटेका डोल्मो, पासाङ, छ्योअीह्लामुहरु पनि आउँथे,यस्तै टिम बन्थ्यो। तीन टोली,चार टोली, पाँच टोली हुन्थ्यो। कोही चुङ्गी खेल्थे,कोही गट्टा, लुकामारी,छोइडुम अनि चोर-पुलिस खेल्थे। फुटबल हाम्रो पहुँचमा थिएन।प्लास्टिक अनि थोत्रा कपडाको डल्लोलाई फुटबल मानेर चनौटे खेतको ठुलो गह्रामा भालेकप खेल्थ्यौं। जस्ले जिते पनि सबै मिलेर भाले खान्थौं पैसा हुँदा।

पैसा नभए खेलको विश्लेषण गरिन्थ्यो,हिडिन्थ्यो। बर्खालागेपछी हाम्रो फुटबल मैदानमा कुलो पस्थ्यो,पानी पस्थ्यो। अलिक दिनमा हल गोरु पस्थ्यो।बाँझो फुटाइन्थ्यो र खेलमैदान मासिन्थ्यो। फुटबल खेल्ने खेल मैदानको आली काटिन्थ्यो,भित्ता खुर्किएरपछि धान पोप्न लायक बनाइन्थ्यो।अनि बीउ हुर्किएपछि खेत हिल्याउन शुरु हुन्थ्यो।हिल्याएपछि आली लगाइन्थ्यो अनि रोपाइँ हुन्थ्यो।हामिले जान्दा रोपाइँमा पञ्चेबाजा बजेनन् तर हजुरबुवा अनि हजुरआमाले रोपाइँमा पञ्चेबाजा बजाएर बेठी लगाइन्थ्यो भनेर सुनाउनुहुन्थ्यो,हामिले उबेला मै कथा जस्तो लाग्थ्यो अहिलेका केटाकेटीलाई त लोककाथा नै भैसकेको हुनसक्छ। हामी केटाकेटी हुँदा ती बाजा बिहेमा मात्र बज्थे। आजभोलि बिहेमा ब्यान्डबाजा बज्छन्। आजभोलिका बालबालिकाले बिहेमा पञ्चेबाजाको धुन सुन्न नपाए जस्तै हामिले पनि खेतमा गह्रामा पञ्चेबाजाको धुन सुन्न पाएनौं। खेतका गह्राहरुले सुन्न छोडेका थिए।रोपार, बाउसे, हलीले पनि सुन्न छोडेका थिए।
संगीतको कामसंग साइनो हुन्छ। संगीत माही सर्वश्रेष्ठ प्राणी मानवले समय र काम अनुसार सुनिरहनु पर्ने कुरा हो। कुनै समयमा गीत सुनाउदा गाईले धेरै दुध दियो भन्ने  पनि चर्चा चलेको थियो। निकै गाह्रो अनि कठिन काम गर्न मान्छेलाई संगीतले सघाउछ, थकानलाई पन्छाउछ। भनिन्छ संगीतले बिरामीलाई पनि आनन्द दिलाउछ र सन्चो गराउछ।तर , म केटाकेटी हुँदा खेतमा पञ्चेबाजा बज्न छोडिसकेको थियो। रोपाइँमा पञ्चेबाजा सामन्ति संस्कारको घोतक हो। राणाकालमा त कुन्नि के के हुन्थ्यो? बुढापाकालाई मात्रै थाहा होला। अहिलेका बुढापाकाहरुलाई पनि के थाहा होला र ? अलिक पहिलाका बुढापाकाहरुलाई त अवश्य पनि।थाहा होला। पञ्चायतकालका कुरा चाहिँ मैले पनि सुनेको छु। मुखिया- काजीको खेतमा रोपाइँ हुँदा मात्रै पञ्चेबाजा  बज्थ्यो। सर्वसाधारणको खेतमा बज्दैनथ्यो। गाउँले अर्थात प्रजाहरु जान्थे र मुखिया काजीको खेतमा नि:शुल्क श्रम गर्थे । दमाईहरुले नि:शुल्क पञ्चेबाजा बजाउँँथे। रोपाइँ सकेर काजी-मुखिया परिवारका लागि घोर्ले खसी ढालिन्थ्यो। अरुका निमित्त होइन अरुले त दु:ख परिश्रम गरे सिद्दियो। खेतमा शोषणको स्वरुप यसरी देखिन्थ्यो,जातीय विभेद झल्किन्थ्यो। सुनेको छु,उनीहरुको अहाए खटाए जस्तो काम नगरे कतिपय खेताला प्रजा कुटिन्थे,भकुरिन्थे,अपाङ्ग बनाइन्थे यी सबै अरेको कुरा मात्रै हुन् । यस्ता कथा बोकेका गत्तिला साहित्य नै त्यति छैनन्। रमेश विकलको अविरल बग्दछ इन्द्रावती जस्ता कथा कति होलान् हाम्रो देशको कुनाकन्दरामा। उनले त सुनकोशी नदी किनारका माझीहरको कथा लेखे,अरु हिमाल,पहाड,भित्री मधेश,अनि तराईका समथर भुभागदेखी पहाड र हिमालसम्मका खोंच,गल्छी अनि दुरदराजका कति कथा नलेखिएरै मेटिन लागे,हामिले पढ्न पाएनौं। हामीभन्दा पछिका पुस्ताका लागि लेख्नु झन् जरुरी छ। लेख्ने चेतना भएका,समाज बुझ्नसक्ने थुप्रै लेखक भए पनि किन नलेखेको हुन कुन्नि ? लेखिदिए हुन्थ्यो नि यस्ता शोषण अनि दमनका कथाहरु! त्यो बेला धेरै शोषण पनि खेतमै हुन्थ्यो। हाम्रो समाज र जीवनसँग खेतमै देखिने सामाजिक पद्धति र अर्थब्यबस्थाको प्रतिबिम्ब कसरी जोडिएको छ ? असारे खेतले प्रष्ट देखाउन सक्छ। तसर्थ असारे दमनका कथाहरु लेखिनुपर्छ।२०४६ सालमा सामन्तवाद उन्मुलन प्रक्रिया शुरु भएसँगै देखिन थालेको अर्थब्यबस्थाको पुँँजीवादीकरण पनि खेतमै देखिन्छ,रोपाइँमै देखिन्छ। आजभोलि रोपाइँमा श्रमिकहरु हुन्छन्।कृषि मज्दुरहरु,उनीहरुले पारिश्रमिक पाउँछन्।


तर हाम्रो समाजमा बिद्यमान विभेद अझै पनि त्यही खेतका गह्रामा देखिन्छ। हलीको पारिश्रमिक धेरै हुन्छ,बढी श्रम पर्ने काम हो,गोरुको पनि श्रमको हिसाब हुन्छ।तर,रोपार र बाउसेमा विभेद किन ? किसान त्यो  वर्ग जसले मानव समुदायको प्राण बचाएको छ। संसारको मैहुँ भन्ने मान्छेले खाने खुराक किसान कै पौरख हो। किसान कै पौरखमा संसार चलेको छ। यो हिसाबमा हेर्ने हो भने किसानहरु सबैभन्दा आदरणीय छन्,पूजनीय छन्।किसान धर्तीपुत्र हुन् धर्तीसँग उनको नङ मासुको सम्बन्ध छ। धर्ती न किसानबाट अलग हुन्छ न किसान धर्ती बिना बाँच्न सक्छ। युगौंदेखी किसान र धर्तीको यही सम्बन्ध कायम हुँदै  आएको छ।तर युगले  किसान र धर्तीलाई अलग्याउने प्रयन्त नगरेको होइन।

औद्योगिक क्रान्तिले धर्तीको धेरै पाटोलाई किसानबाट खोसेर लग्यो,धेरै किसानहरुलाई औद्योगिक मजदुर बनायो।त्यही क्रान्ति ले यस धर्तीका केही मान्छेहरुलाई अरवपति-खरबपति बनायो। ती खरबपति-अरबपतिहरुले किसानबाट धर्तीको स्वामित्व खोसे,अझै खोस्ने क्रम जारी छ। संसारका हालत यही छ।यस धर्तीका सच्चा धर्तीपुत्रहरु धर्ती विहिन छन्। आफ्नै धर्तीमा ज्यालादारी मजदुर बनेर असारे रोपाइँ गरिरहेका छन्।तर मंसिरमा धर्तीसँग साइनो न सम्बन्ध भएकाहरुको भकारिमा अन्न घोप्टिन्छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको विकसित समाजले यसमा परिवर्तन ल्याउला ? सामन्तवादको यो अवशेष अझै हटाउन बाँकी छ,कतिपय कुरा यसरी जोडिंदो रहेछ समाज,खेत र असारसँग। म यही समाजको एउटा अंश,कसरी अजोडिन सक्छु र ? धेरै किसानका छोराछोरीहरु जस्तै मसँग पनि खेत जोडिएको छ।जीवनको अनुभव अनुभुती गर्न मलाई खेतले नै सिकाएको हो। असारे भाका मैले रोपाइँ हुँदै  गरेको खेतका गह्राहरुमा सुनें र आफ्नो समाज र संस्कृति प्रति रुचि बढाएँँ। रोपारहरुको लहरबाट आमादिदीले गाउने मनुस्मृतिमा आधारित चाणक्यवादी सामन्ति संस्कारको जाँतोमा पिसिएका महिलाहरुको वेदनाले युक्त विरही
भाका सुनें। उनीहरु मुक्तिको बाटो नदेखेर, भग्यालाई दोष दिएर झ्याउरे गाउँथे। यी भाकाहरु हाम्रो संस्कृति मात्रै होइनन्, इतिहास पनि हुन्। यिनको संरक्षण गर्ने दायित्व सरकारी रेडियोको मात्रै होइन। यी गीतसँगै मैले पुरुष हुनुको अभिमान गर्न पनि सिंके, रोपाइँको मेलामा।असारे  भाका अरु पुरुषले पनि स्वर थपेर गाए  तर मैले पनि गाइनँ । गाइदिने त ती महिला अनि पुरुषहरु नै थिए-हामी केटाकेटी त रमिते पो। पुरुषहरुले रोपार बन्न नहुने, म पनि बाउसे भइटोपल्थें।यसैगरी केही रोपाइँ हेर्दाहेर्दै म पनि किशोर भइसकेछु। हिलो छ्याप्नुको मज्जालाई रोपाइँमा रमाइलोको पर्यायवाचीको रूपमा लिइन्थ्यो। खुब छ्यापियो हिलो उर्साङ, पेमा, छ्योइसाङ लगायतका रोपारहरुलाई। हिलो छ्यापेपछि निथुरक्क भिज्थे उनिहरु।लुगा शरिरमा चपक्क टाँसिएपछि शरिरको आकार-प्रकार बाहिरबाटै प्रष्ट देखिन्थ्यो । यो दृश्यमा रमाउन पनि रोपाइँले सिकायो। अनि मेरै उमेरका ती किशोरीहरु यस्तोबेला लजाएर गाला रातो पार्थे। हिलाम्य हात म गालामा दलिदिन्थें। उनिहरु अझ लजाएर कर्के नजरले हेर्थे । त्यतिबेला मनमा प्रेमको मुना पलाएछ। त्यतिबेला पलाएको प्रेम अर्गानिक प्रेम हुन्थ्यो।त्यतिबेलै थाहा भएछ प्रेम गर्नुपर्छ। हुन त असार प्रणयको सूत्रमा बाँधिदिने याम पनि हो। यौवनको खुट्किलो उक्लन्दै गरेका युवायुवतीहरु धेरैले असारे रोपाइँबाटै मायाको माखेसाङ्लो बुनेको अथा किसानहरुमा प्रशस्तै पाईन्छ। हिलो छ्यापी होस् वा गह्रामा खाल्डो खनेर रोपाहरुलाई डुबाउने खेल प्रणयकै प्रारम्भिक विन्दु हुन्।


हो यस्तै अर्गानिक प्रेमकी एकजना पात्र भोइमो थिइन। पहिले पहिले धानसंग आलु साँटन कोसिपारीको बेखसिम्लेतिरबाट मानिसहरु वेंशितिर झर्थे तर हामी हामीले प्रेरेम बुझ्ने समयमा हामी आलुको बिउसंग साँट्न धान लिएर जान थालेका थियौं

 त्यही बेख्सिम्लेकी भोइमो राजनितीक उथलपुथल ल्याएर कोसिपारी क्षेत्रमा कृषिको आधुनिकरण गरेर समुन्नत कोसिपारी निर्माण गर्ने उद्देश्यका साथ रातो क्रान्तिमा होमिएकी थिइन। हजारौं किसानहरुको नाममा धर्तीको एक टुक्रो छैन, लाखौंको भागमा रेखा-पाखोमात्र छ। माटोसँग अपरिचित मुठ्ठीभर भु-माफियाहरुको नाममा हजारौं विगाह जमिन अलपत्र छ,जहाँ हरूवा बनेर किसानहरु रोपाइँ गरिरहेका छन्। मुठ्ठी खाएर मालिकको नाममा मुरि उब्जाइरहेका किसानहरुको यो ब्यथा युगौं पुरानो हो। नेपाली माटोले धेरै पल्ट परिवर्तन भोग्यो,प्रत्येक परिवर्तनसँगै भूमिसुधारको चिल्ला नारा फलाकियो तर न भूमीहिन जनताहरुको नाममा एकटुक्रा जमिन दर्ता भयो न भू-माफियाहरुको एक विगाह जमिननै राष्ट्रियकरण हुन सक्यो।
जस्ले जमिन जोत्छ त्यो जमिन जोत्नेको हुँदैन भने त्यहाँ जोत्नेले दिलैदेखी काम गर्दैन। जहाँ मन लगाएर काम गरिदैन त्यहाँ उत्पादन क्षमता अनुसार हुँदैन । नेपालको कृषि प्रणालीले एकातिर आधुनिक कृषि प्रविधि अपनाउन सकेको छैन, अर्कोतिर जमिन जोत्नेको नहुँँदा उत्पादन भने अनुसारको भईरहेको छैन। त्यतिबेला पहाडी क्षेत्रमा त उत्पादन ह्रास हुने क्रम अत्याधिक छ, कारण हजारौं जमिन बाँझिएर बसेको छ। नयाँ पुस्ताको सहर पस्ने र बिदेशिने पवृती बढेकाले जमिन बाँझो रहेर उत्पादनको क्षमता ह्रास हुनु परेको हो। आज गाउँमा हलो जोत्ने र बाउसे गर्ने युवाहरुको खडेरी छ।उमेरले डाँडो काटिसकेका हजुरबाहरुको हातमा हलगोरु र कोदाली थमाइएका छ। घरले जा जा बनले आइज आइज भन्ने उमेरमा हलो कोदालो गरिरहेका हजुरबाहरुलाई रोपाइँको के महत्त्व ? हिलो छ्यापेर हौस्याउने बाउसेहरु नै नभएपछि रोपारहरुलाई असारे गाउने के को जाँगर ? असार पन्ध्र ले दहि र चिउरा नबिर्से पनि रोपाइँले बेठी बिर्सिसक्यो। रोपारहरुले धानको बिउ हिलोमा गाड्न नबिर्से पनि असारे भाका भुली सक्यो।


हो तिनै भोइमोप्रति मेरो प्रश्न मनमनै तेर्सिएको छ। र त माथिल्लो अनुच्छेदमा भोइमोसंग अकोहोरो प्रश्न गरेछु। भोइमो अब तिम्रो त्यो रातो क्रान्तिले पनि असारका परिवर्तित कथाहरु अनि परिवर्तित कथामा किसानका भविश्यहरु लेख्न सकेन।

कृषिलाई आधुनिकरण नगरेसम्म र जमिन जोत्नेको अबनाएसम्म राष्ट्रको उन्नति केवल कल्पना मात्र हुने छ। हो तिमी पनि यस्तै भनेर विगतका दिन्हरुमा भाषन गर्थ्यौ अब यो देशमा कृषि क्रान्ति गर्नु पर्छ। यहाँका जनतालाई समृद्ध बनाउन भनेर रातो क्रान्तिमा लागेको भोइमो तिमीलाई मुहार्पुस्तिका झल्क्क देखें। पछि मुहारपुस्तिका भरी असिनपसिन हुने गरि खोजें तर कतै भेट्न सकिएन। हुन त गाउँमा हुँदा पो सबै कुरा अर्गानिक,क्रान्तिमा लागे पछि त त्यतिखेरको त्यो  अर्गानिक प्रेम अनअर्गानिकमा परिणत भयो है। हुन त म पनि क्रान्तिकारी विचार नै बोकेको व्यक्ति हुँँ तर त्यो रातो क्रान्तिले मेरो मन जित्न सकेन। त्यसैले त आज अर्गानिक मान्छे पनि अनअर्गानिक भैरहेका छौं है ।


हिजो रातो क्रान्तिका माध्यमबाट नेपाली राजनीतिक धरातलमा भएको संविधानसभाको निर्वाचन मार्फत कोसिपारी क्षेत्रको प्रतिनिधित्व गरेर सुर्यमान दोङ र तेजबहादुर मिजार सभासद बने,विभिन्न कारणले संविधानसभा विघटन भयो। ती सभासदले कोसिपारीलाई फर्केर हेरेनन।दोस्रो संविधानसभाको निर्वाचन भयो तर रातो क्रान्तिलाई कोसिपारीले रुचाएन। तसर्थ भोइमो कोसिपारी क्षेत्रमा रातो क्रान्तिले भनेजस्तो अनि कोसिपारीका जनताले चाहेजस्तो परिवर्तन हुनसकेको छैन। बरु  नकारात्मक परिवर्तन प्रशास्तै भैसकेको अवस्था छ। आज फुर्वा, छेडुप अनि दावा नाम्ग्यालहरु विदेशी भूमीमा पसिना चुहाउन बाध्य छन्। कोसिपारीको ५०% जमिन बाँझो छ। एकतर्फी चल्ने साङुरा कच्ची मोटर बाटोमा चल्ने अरनिको कोसिपारी यातायातका गाडीहरु पनि हल्का वर्षा हुने बित्तिकै दोलालघाटबाट उकालो लाग्न मुस्किल छ।

अनि असारे रोपाइँका निमित्त किसान्हरुको खाद्य सामाग्री बोकेर गाडी उकालो लाग्न नसके।पछि ती किसानको हालत कस्तो होला? तसर्थ भोइमो अब फुर्वा, छेडुप अनि दावा नाम्ग्याल अनि उर्साङ,पेमा, छ्योइसाङहरुजस्ता युवाहरुलाई यही ठाँउमा केही गर्न अभिप्रेरित गर्नु छ। भोइमो अझै फेरिएको छैन है हाम्रो कोसिपारी। यही कुरा फुर्वा, छेडुप अनि दावा नाम्ग्याल अनि।उर्साङ, पेमा, छ्योइसाङ्हरुजस्ता युवाहरुलाई सुनाउनु छ र भन्नू छ विदेशमै बसे पनि गाउँलाई माया गर्नुपर्छ, यसलाई काभ्रेको कर्णाली हैन काभ्रेको सिङ्गापुर उपमा दिइनेगरी युवाहरु लाग्न जरुरी छ।यादहरु संगाल्दा-संगाल्दै यहाँसम्म आइपुगिएछ। यहाँ माया-पिरतीका सस्ता शब्दहरुले धेरै किताबका पानाहरुको ओईरो लाग्यो,प्रगति र विकासवादको नाममा मार्ने र मर्ने कुराको ब्याख्या धेरै भयो तर किसानको छोराछोरीले धानिरहेको नेपालको कृषि क्षेत्र आज बेवारिसे छ।
तसर्थ अझै पनि कोसिपारीलाई परिवर्तनलाई मार्गनिर्देशन गर्न सक्ने दिशा-निर्देशक युवाको खाँचो छ।


            हो हो रे हो हो हो

            हो हो रे हो हो हो


हल गोरु सायौं असारे गायौं ढल्कियो हेर दिन

पसिना खेतमा बगाउन अब नमनौ लाज घिन!


गहिरी खेतको यो भेट हजुर हन्दैन हम्मेसी 

भविश्य आफ्नै माटोमा खोज्न फर्क है परदेशी !
    
                 हो हो रे हो हो हो
                 हो हो रे हो हो हो........




0 comments:

Post a Comment

Letest Video

Popular Posts