Wednesday, June 1, 2016
- 6:54 AM
- TBFM
- No comments
लेखक:- धर्मचन्द्र योञ्जन तामाङ ।
मानव सभ्यताको विकास क्रमसंगै विभिन्न जातजातिका रूपमा मानिसहरु विभाजित हुने कार्य पनि शुरु भयो। ती विभिन्न जातिहरुमा तामाङ पनि एक हो।तामाङ पहिचान सहितको सभ्यता विकसित हुने क्रममा नै तामाङ थरहरुको पनि सिर्जना भएको हो।यसरी विभिन्न तामाङ थरहरु सिर्जित हुने क्रममा योञ्जन थर पनि अस्तित्वमा आयो।
विभिन्न तामाङ थरहरुको उत्पत्तिसंगै योञ्जन थरको पनि उत्पत्ति भयो। यसरी उत्पत्ति भएको योञ्जन थरलाई तामाङ सभ्यताको चिनारी दिने विभिन्न ग्रन्थहरुमा लिपिबद्ध गरिएको पाइन्छ । सम्भोटा (तिब्बती) लिपिमा लिपिबद्ध हस्तलिखित ग्रन्थहरु ह्रुइसाङ च्योप्गे,सेदाङ,दोङ-ह्राप आदिमा योञ्जन थरको वर्णन गरिएको छ।
यहाँ तामाङ वंशावलीको ह्रुइसाङ च्योपगेला दोङ-ह्रापमा योञ्जनलाई पाँच पुर्खा (खेङा) मध्येको एक पुर्खाको रूपमा वर्णन गरिएको छ। पाँच पुर्खाहरुमा योञ्जन,मोक्तान,घिसिङ,बल र ब्रोक्चन पर्दछ। पाँच पुर्खा (खेङा) को वृतान्त वर्णनमा योञ्जनको बारेमा यसरी वर्णन गरिएको छ:
योञ्जन रेम्बोर्छेला म्हेमेला छान, म्हेमे हुङ्गा ग्याल्बो दहाङ्दो बाबना, नाक्पो च्यागी गोन्बोला बाब, ला तेन्मामी लामा कोनज्योतेन,ताकपा ङो जिन्नामी म्हारला चुरगुरि क्युअी ग्युल्मु।
यसबाट हामी के प्रष्ट हुन सक्छौ भने योञ्जनको उत्पत्ति नाक्पो च्यागी गुम्बामा भएको हो।
गुम्बाको भित्तामा आकाशे रङ्गको चार भुजा (हात) भएको बाघभैरव,महांकालको रूपमा देखिने देवता लामा कोन्ज्योलाई योञ्जनले कुलदेवता मान्दछ।
यसैगरी सेदाङमा पनि योञ्जन थरको बारेमा यसरी लेखिएको छ:
बाब्सा नाक्पो च्यागी गोन्बो
फोला बब ह्रुइगी फोला लामाकोन्ज्यो
दाङ छ्याअी क्योङ पाल
हिसेकी गोन्बो छ्यासिपा तेन
योञ्जनको उत्पत्ति नाक्पो च्यागी गुम्बामा भएको हो। लामा होन्ज्यो,पाल हिसे गोन्बो छ्यासिलाई योञ्जनले कुलदेवता मान्दछ।
यसैगरी योञ्जनहरुको वर्णन दोङ-ह्रापमा पनि सेदाङमा झै गरिएको पाइन्छ:
बब्सा नाक्पो च्यागी गोन्बोला बब
ह्रुइगी फोला लामा-कोन्ज्यो
दोङ छ्योअी क्याङ पाल हिस्ये गोन्बो छ सहि बब तेन।
अनि ताम्बा काइतेनमा अझै प्रष्टसंग लेखिएको छ:
नाक्पो च्यागी गोन्बोला बब
ह्रुइगी फोला योञ्जन-ला
लामा कोनज्यो महांकाल
नाकपो च्यागी गुम्बामा उत्पत्ति भएको योञ्जनले लामा कोनज्यो नामक कुल मान्दछ।
यसरी पाँच पू्र्खा (खेङा) को यात्रा वृतान्त वर्णन गरिएको हुङ्गा रेम्बोर्छेलाई नै योञ्जनहरुको पुर्खा मानिएको छ।वहाँको जन्म नाक्पो च्यागी गुम्बामा भएको थियो।वहाँले तान्त्रिक शक्तिको माध्यमद्वारा बाँसको टोकरीमा समेत पानी भरेर ल्याउन सक्नुहुन्थ्यो। कुनै समयमा योञ्जन लामाहरुको घिसिङ थरका लामासंग द्वन्द चर्किएको थियो।घिसिङ लामाले आफ्नो तान्त्रिक शक्तिद्वारा हावा-हुन्डरी, असिनापानी पारेर योञ्जनहरुले लगाएको बालीनाली नास पार्ने निर्णयमा पुगे र सोहो अनुरुप गरे पनि,त्यसैबेला नाक्पो च्यागी बगैंचामा हुङ्गा रेम्बोर्छेले ध्यान तपस्या गरिरहनु भएको थियो,वहाँले तपस्या गरिरहेको अवस्थामा वहाँले हावा-हुन्डरी असिनापानी पर्न लागेको थाहा पाउनुभयो। यसले कृषिमा असर पार्छ भनी तान्त्रिक शक्तिद्वारा सुनको डोको बनाएर असिनापानी डोकोमा थाप्नुभयो। उनै हुङ्गा रेम्बोर्छेका सन्तानहरु नै योञ्जन कहलिएका हुन।
बुद्धिमान मोक्तानको तामाङ वंशावली (जिक्तेन तामछ्योअी), सन्तवीर लामाको ताम्बा काइतेन लगायतका अन्य तामाङ तथा तामाङ इतरका लेखकहरुको पुस्तकमा पनि योञ्जन थरको उत्पत्तिको सम्बन्धमा उल्लेख गरिएको पाइन्छ।
उदाहरणका लागि समाजशास्त्री डोर बहादुर बिष्टको ''पिपुल अफ नेपाल - १९७२'', नगेन्द्र शर्माको '' नेपालको जनजीवन -२०३७'' गाव्रिल टाउचरको ''हिमालयन माउन्टेन कल्ट्स'', जनकलाल शर्माको ''हाम्रो समाज: एक अध्ययन - २०३९'' र वंशाटार्टको ''गोर्खज नोट अफ नेपाल - १९०८'' लगायतका पुस्तकहरुलाई लिन सकिन्छ।
एक किंवदन्ती अनुसार दोङ ज्याल्सा (राज्य)को काग्यु च्यागी गोन्बो अर्थात नाक्पो च्यागी गोन्बोका लामा पुरोहितहरुको सन्ततिहरुलाई नै योञ्जन थरका तामाङ हुन। यसरी विभिन्न ग्रन्थहरुमा वर्णन गरिएको योञ्जन थरका तामाङहरु शुरुआतमा सिन्धुपाल्चोक जिल्लामा पर्ने नाकपो च्यागी भन्ने स्थानमा बसोबास गर्न थालेको भनिन्छ। त्यस पश्चात् बन्दरपा,ताङ्गाम हुँदै बसाइँसराइ हुँदै जादा वनजंगल फडानी गरेर हालको ह्रिस्याङगुमा बसोबास गरेका हुन।
योञ्जनहरु ह्रिस्याङगु लगायत धादिङ,फुलपिङ,याम्दाली, पोङ्दी, धैबुङ र वाफल आदि।ठाँउहरुलाई आफ्नो किपट भुमि मान्दछन।
हुङ्गा रेम्बोर्छे समय पश्चात् नै योञ्जनहरु ह्रिस्याङगुबाट बन्दरपा,धादिङ,फुलपिङ,याम्दाली,पोङ्दी र वाफल लगायतका ठाँउहरुमा बसाइँसराइ गरि फैलिएका थिए।यसरी आज पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म अनि उत्तरी हिमालदेखि दक्षिण तराईसम्मको चौहद्दी भित्र बसोबास गर्न नभएर विश्वभर छरिएर रहेको योञ्जनहरु बम्जन, लोप्चन, मिक्चन र डुम्जनहरुलाई सहथर मान्दछन। अझ सन २०१३ मा भएको तेस्रो अन्तरास्ट्रिय तामाङ सम्मेलनको घोषणापत्रमा त म्हेमे कु(नौ बाजे) र माम कु(नौ बज्यै) बाट जन्मेको सन्तानहरु नै सहथर वा सहगोत्री हुन भनेर उल्लेख गरिएको छ। जसअनुसार म्हेमे हुङ्गा रेम्बोर्छे र माम नाङ्साल्मोको सन्तानहरु बम्जन,लोप्चन,मिकचन र डुमजन नै योञ्जनहरुको सहथर हो। तसर्थ योञ्जन वर्गमा पाँचवटा थर पर्दछ,जसलाई तामाङ भाषामा ङाह्रुअी भनिन्छ।
माथी उल्लेखित योञ्जन वर्गभित्रका पाँच थरहरुका बीचमा कहिल्यै पनि विवाह हुदैन । यसरी तामाङ सामुदायमा पाँच पाण्डव मानिने योञ्जन वर्गमा रहेको योञ्जनहरु दुई प्रकार (गोत्र)का हुन्छन। जसलाई तामाङ भाषा खोर भनिन्छ। योञ्जनहरु लामा र बोन (बिच्छी) अर्थात चन खोर (गोत्र)मा विभक्त छन।तामाङ जहाँ पुगे,जहाँ बसे त्यही ठाँउका खोलानाला,डाडापाखा आदि ठाँउको नामबाट खिर(गोत्र) वर्गीकरण गरिएको पाइन्छ। त्यस्तै योञ्जन थरमा पनि पदवीका आधारमा खोर(गोत्र)छुट्याइएको छ।झाक्री प्रथा अवलम्बन गर्ने योञ्जनले बोन (विच्छी) वा चन खोर (गोत्र)को योञ्जन भन्न रुचाउँछन् भने लामा योञ्जनहरु लामा खोर(गोत्र)को योञ्जन भन्दछ।त्यसैगरी आजापूजा गरिने कुल-देवताको नाम जोडेर पनि खोर(गोत्र) निर्धारण गरिएको हुनसक्छ । लामा-कोनज्यो कुल मानेसंगै लामा खोर(गोत्र) राखिएको हो कि भन्ने अनुमान् लगाउन सकिन्छ ।तसर्थ जसले जुन खोर (गोत्र)को योञ्जन हुँ भने पनि योञ्जन,योञ्जन नै हो। तामाङ जातिमा हिन्दु वर्णाश्रम अनुसार खोर(गोत्र) फरक भन्ने बित्तिकै विवाह हुदैन।
तामाङ जाती भित्रको एक योञ्जनको घरमा लगाउने रङ्ग पनि फरक छ। योञ्जन थरका तामाङको घरमा पुरै सेतो रङ्ग लगाइन्छ। लोप्चनको घरका भित्तामा पनि योञ्जनले झैँ पुरै सेतो रङ्गको प्रयोग गरिन्छ।तर बम्जनको घरमा रातो रङ्गको प्रयोग गरिन्छ। हिजो यसरी रङ्गको प्रयोगमा पनि आफ्नो पहिचान भएता पनि आजको योञ्जन लगायतका तामाङको घरमा बढ्दो आधुनिकता संगै इच्छा अनुसारको रङ्ग लगाउन थालिएको पाइन्छ।त्यसैगरी योञ्जनहरु जुन खिर (गोत्र)का भए पनि कुल-देवता पूजा कोठामा राख्ने प्रचलन छ।तर अरु केही थरका तामाङले आफ्नो थर अनुसार कसैले घरको थाम,बुइगल,अनि छानामा राख्ने गर्दछन।
आज आफ्नो थातथलो छडेर रोजगारीको सिलसिलामा या बसाइँसराइको कारणले देशदेशावर पुगेका योञ्जनहरु आफुलाई ह्रिस्याङ्गोली, धादिङ्गे, यामदली, र वाफले योञ्जन भनेर चिनाउने गरेका पाइन्छ। यी त बसाइँसराइ हुनुपुर्व आफ्नो पुर्वज बसोबास गर्नुभएको थातथलो हो।
यसरी वर्गीकरण गर्नु उचित हुदैन ।केही समय अगाडीको घटना हो पङ्तिकारले पुर्वकी योञ्जन बहिनीसंग फोनमा वार्ता गर्ने अवसर प्राप्त गरेको थिएँ,अहिले पनि हामी सम्पर्कमा छौँ ।मैले सोधेँ कुन खोर(गोत्र) को योञ्जन हो आङा ? आङाको जवाफ थियो: ह्रिस्याङ्गोली। तसर्थ यहाँ के भन्न खोजेको हुँ भने ह्रिस्याङगु हाम्रो उद्गम थलो हो, खोर (गोत्र) होइन।
संसारभरका योञ्जनहरु एक हौ,फरक छैनौं भन्ने भावना जागृत होस,धन्यवाद !!!
पङ्तिकार फलाँटे -४ जुरेडाँडा,काभ्रेपलान्चोक स्थायी ठेगाना भएको योञ्जन थरका तामाङ हुन।
तामाङ बौद्ध महासंघ मलेसिया !!!
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment