Sunday, June 26, 2016



साभार:-सैलुङ अन्लाईन

सेलो गीत,संगीतले चिन्न थालेको नाम हो, विशाल योञ्जन तामाङ ।
वि.स.२०५०   सालमा काभ्रेपलान्चोक जिल्ला बेख्सिम्ले -२ आरुबोटमा
पिता पेमा दोर्जे तामाङ र आमा सुनमाया तामाङको कोखबाट जन्मेका जेठा छोरा हो, विशाल ।
विगत केही समयदेखि सांगितिक जगतमा सक्रिय भएर लागि परेको विशालले गीत लेखन, संगीत र स्वर समेत देनि गरेका छन् । प्रगतिशील गीतदेखि मायाप्रीतिका गीतसमेत गाएका योञ्जनले २ दर्जनभन्दा बढी गीतमा संगीत दिइसकेका छन् ।

पहिलो १६ वर्षको उमेरमा
" दुखीले दु:ख विसायो " गीतमा स्वर रेकर्ड गरेदेखि गीत, संगीतमा पसेको योञ्जनले 
तीन-चार वर्ष पछाडि,
स्वयम्भू गाङ्री,
माथी-माथी हिमाल,
हिमालि फेदीमा,
यसपालि ल्होछार,
हिउँदैमा, परदेशी, डाम्फु त छालाले मोरेको, चु ह्युल, माया लाउ देन्बा, अश्याङकी छोरी, ह्याङ्ला चिनारी , ग्याल्बा बजार , काभ्रेली मैच्याङ, मायासे पिन्जी धोका, मैच्याङ नाना, आजभोलिका च्याङ्बा, " हेटौंडा मकवानपुर, स्वयम्भू जात्थाररी " 
लगायत थुप्रै बोलको गीतमा स्वर, शब्द तथा संगीत दिइसकेका छन् ।

उनकै स्वर तथा संगीतमा
" सेलो एल्बम "," जिन्दागीला ग्यालम "
" ह्युल र अमरमुला ह्याङ्ला माया " जस्ता तामाङ चलचित्रहरुमा स्वर संगीत भरेका छन् । त्यसैगरी
"चोखो माया", "तिम्रो हाँसो", " मर्न पनि सकिएन", आधुनिक गीत, " मेरी आमा, कस्तो रहेछ गरिबको कर्म"  लोकगीतमा संगीत भरिसकेका छन् ।
हाल विशाल कला केन्द्र प्रा.लि. जोरपाटीको प्रबन्धक निर्देशकको रूपमा कार्यरत छन् ।
योञ्जनसँग बसेर सैलुङअन्लाईनका अमिर र सनिष योञ्जन तामाङले गरेका प्रत्यक्ष कुराकानीको अंश:

हाल केमा व्यस्तता हुनुहुन्छ ?
तामाङ कथानक चलचित्र "अमरमुला ह्याङ्ला माया" को गीत रेकर्डिङ गर्दैछु। केही एल्बमका गीतहरुमा समेत संगीत गर्दैछु।

यो क्षेत्रमा आउन कसको प्रेरणा मिल्यो ?
मेरो प्रेरणाको स्रोत रेडियो नेपाल हो। रेडियो नेपालको साझा आवाज कार्यक्रम र मेरो बुवा । किनकी मेरो बुवाले सहरबाट सानो रेडियो किनेर ल्याउनु भएको थियो। वास्तवमै बन्नुपर्दा मेरो परिवार र मेरो ठाँउमा संगीत क्षेत्रमा लागेको व्यक्ति कोहि थिएनन् र सांगीतिक वातावरण पनि थिएन। 
मेरो मामा चाहिँ तामाङ चलचित्रमा खेल्नुहुन्थ्यो, संगीतप्रेमी हुनुहुन्थ्यो। उहाँको प्रभाव र सानैदेखी आफैमा गीत, संगीतप्रती चासो र इच्छा बढ्न थाल्यो।

सांगीतिक यात्राको यो घडीसम्म आइपुग्न कतिको संघर्ष गर्नुभयो?
संघर्ष त धेरै गरियो। कलाकार बन्छु भनेर एसएलसी सक्ने वितिकै गाउँको कलेज छोडेर संगीतको अध्ययनकै लागि काठमाडौं कलेजमा भर्ना भएँँ।
बिहान कलेज, दिउँसो काम र बाँकी बेलुकाको समयमा ट्युसन ल्कास सकेपछि संगीत सिक्न जान्थे । यसरी नै कलेजको अध्ययनसँगसँगै संगीतको अध्ययन गरे।
पछि गीत रेकर्डिङ र एल्बम निकल्ने बेलामा धेरै दु:ख गर्नुपर्‍यो । अझै पनि यसरी नै श्रोताहरुलाई आफ्नो सिर्जनाले सन्तुष्ट दिलाउन संघर्ष गरिरहेकै छु गरिरहन्छु।

यस क्षेत्रमा कतिको प्रतिस्पर्धा गर्नुपरेको छ ?
अहिले हरेक क्षेत्रमा प्रतिस्पर्धाकै समय छ। झन संगीत क्षेत्रमा त अत्यधिक प्रतिस्पर्धा छ। धेरै पुरानो तथा नयाँ प्रतिभाशाली व्यक्तिहरु हुनुहुन्छ । त्यसैले आ-आफ्नो कलाले प्रतिस्पर्धा गर्नु त जरुरी नै छ, गर्नुपरेकै छ।

संगीत शिक्षाको बरेमा यहाँको धारणा के छ ?
अहिले संगीत क्षेत्रको माहोल र अवस्थाअनुसार संगीत शिक्षा लिन जरुरी छ। विधिवत रूपमा संगीत अध्ययन गरेर यस क्षेत्रमा आउँदा आफुलाई र सिङ्गो नेपाली तथा तामाङ संगीत जगतलाई पनि राम्रो हुन्छ, जसका कारण राष्ट्रलाई समेत ठुलो योगदान दिन सकिन्छ ।

तामाङ गीतसंगितको अवस्थाबारे तपाईले बुझेका कुराहरु के के छन् ?
तामाङ गीतसंगीतले पहिलेको तुलानामा ठुलो आकार लिइदैछ।
प्रतिभाशाली कलाकारहरुको आगमन पनि बढ्दो छ । समग्रमा भन्नुपर्दा तामाङ गीतसंगीतले राम्रै रुप लिइरहेका छन् ।

तामाङ संगीत क्षेत्रको भरमा भविष्य बन्ला ?
अहिलेको स्थितिअनुसार तामाङ संगीत क्षेत्रमा मात्रै चाहिँ गाह्रो नै पर्ला ।

अबको यहाँको नयाँ कोशेलीस्वरुप बजारमा के ल्याउदै हुनुहुन्छ ?
२०७२ सालमा अपुरा भएका कामहरु २०७३ सालमा नयाँ कोशेलिस्वरुप श्रोता,  दर्शकमाझ मेरो आफ्नै बिशाल कला केन्द्र प्रा.लि. को ब्यानरमा निर्मित तामाङ कथानक चलचित्र ह्युल छिट्टै प्रदर्सनमा ल्याउदैछु। जसमा मेरो शब्द , संगीत र स्वर रहेको छ। धेरै समयपछि अब फेरि श्रोताहरुमाझ मेरो एकल आधुनिक गीति एल्बम ल्याउने तयारीमा छु ।

विशाल कला केन्द्रमा सिक्न के के पाईन्छ ? र कहाँ अवस्थित छ ?
यो विशाल कला केन्द्र संगीत विद्यालय हो, यसको म अहिले प्रबन्ध निर्देशकको रूपमा कार्यरत छु।
यस विद्यालयमा दक्ष तथा अनुभवी प्रशिक्षकहरुरुद्वारा गायन, वाद्यवादन, नृत्य , अभिनय र उद्धोषनका कक्षाहरु सिकाइन्छ। हरेक विद्यामा दक्ष तथा ख्यातिप्राप्त प्रशिक्षकहरु हुनुहुन्छ ।
यस विशाल कला केन्द्र प्रा.लि. मार्फत धेरै वटा एल्बम उत्पादन तथा बिक्रीवितरण र दुईवटा तामाङ भाषाका चलचित्र निर्माण गरि सकेको छन् ।

तपाईले पहिलो गीत कति वर्षको उमेरमा गाउनुभयो ?
गाउन त म स्कुल पढ्दादेखि नै कार्यक्रमतिर मादल बजाएर गाउने गर्थे । तर एसएलसी सकेपछि १६ वर्षको उमेरमा मैले पहिलोपल्ट तामाङ सेलो गीत रेकर्ड गरें।

अन्त्यमा श्रोताहरुलाई के भन्न चाहनुहुन्छ ?

हजुर, म मेरो श्रोताहारुलाई धेरै धेरै सम्झना गर्न चाहन्छु र हरपल सम्झिरहनेछु । किनकि मैले गरेको हरेक सिर्जना, म श्रोताहरुलाई नै मध्यनजर गरेर सिर्जना गरेको  हुन्छु । संगीतमा मेरो मनमुटु जति छ, त्यति नै श्रोता पनि हुनुहुन्छ । त्यसैले यसरी नै यहाँहरुको माया, सल्लाह,सुझाव पाइरहुँँ । सधै सधै यो नेपाली तथा तामाङ गीत संगीतलाई माया गरिदिनुहोला भन्न चाहन्छु। मेरो गीत , संगीत तथा आवाजलाई  सधैभरि कोशेलिस्वरुप स्विकारिदिनु, सुनिदिनुहोला पनि भन्न चाहन्छु । तपाईलगायत सैलुङअन्लाईन टिमलाई धेरै धेरै धन्यवाद र सम्पुर्ण श्रोताहरुलाई पनि धेरै धेरै धन्यवाद छ ।



0 comments:

Post a Comment

Letest Video

Popular Posts