18-जुन-2016 शुक्रबार/ HBFC
हिन्दुबुद्धिस्ट फाउन्डेसन अफ क्यानडाले गत आइतबार जुन 12 तारीख 2016 का दिन भान्कुवरको सरे सिटि सेन्टर लाईब्रेरीमा नेपालबाट पाल्नु भएका बौद्ध धर्मगुरु खेन रिन्पोछे गेशे ङिमा तामाङ गुरुज्यु संग भेटघाट तथा प्रवचन कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रम शुरुगर्दै कार्यक्रमका संचालन तथा संस्थाका महासचिव डा.सुनिल हमालले संस्थाको उद्देश्य र स्थापनाको संक्षिप्त जानकारी दिनुभयो।
त्यसपछि खेन रिन्पोछे गेशे ङिमा तामाङ गुरुज्युबारे संक्षिप्त जानकारी शम्भु लामाले दिनु भयो। उहाँले खेन रिन्पोछे ङिमा तामाङ को जन्म ललितपुरको बतासे डाँडा,जुन काठमाडौं शहरबाट करिब ६० कि.मि. दक्षिणमा पर्दछ भन्नुभएको हो। उद
उहाँले आफ्नो गाउँमा स्कुलको शिक्षा हासिल गरेपछि भारतको कर्नाटक राज्य स्थित नमड्रोलिङ,मोनास्ट्रीमा अध्ययन गरि धार्मिक उच्च शिक्षा हासिल गर्नु भयो।यस्तो धार्मिक उच्च शिक्षा प्राप्त गर्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ। शिक्षा प्राप्त पछि नेपाल फर्की आफ्नै पू्र्खाको आर्जित १५ रोपनी जग्गा र पछि अरु थप १० रोपनी जग्गामा आफ्नै पहलमा एउटा गुम्बा स्थापना गर्नु भयो। उक्त गुम्बा निर्माणमा सरकार वा अरु आधिकारिक ब्यक्तिहरुबाट कुनै सहयोग नपाइएको,त्यसका लागि खेन रिन्पोछे गेशे ङिमा तामाङ ले एशियाका विभिन्न देशहरूमा पटक-पटक भ्रमण गर्दै,सहयोग जुटाउन अपिल गर्दै चन्दा,सहयोग संकलन गरि निर्माण गरिएको जानकारी दिनु भयो।
त्यसपछि कार्यक्रममा बोल्ने क्रममा खेन रिन्पोछे गेशे ङिमा तामाङ ज्युले बुद्ध जयन्तीको अबसरमा संसारभरका नेपालीहरु एक भई एकताको संकेत दिएको,बुद्ध नेपालमा जन्मेको भन्ने तुल,ब्यानर,प्लेकार्ड बोकेर संसारभर र्याली मनाएको निकै राम्रो हो। तर त्यो संदेशलाई अझ बिदेशी आधिकारिक निकायहरुमा पनि पुर्याउने पहल भएमा त्यस्ता कार्यक्रमहरु शसक्त हुने विचार प्रकट गर्नुभयो।
त्यस्तै उहाँले आज बुद्ध जन्मेको २५६०वर्ष पुग्दा,विश्वका धेरै ब्यक्तिहरु बुद्धको शिक्षामा निपुण भई धाराबाहिक प्रवचन दिने नेपाली समाजमा निकै कम देखिँदा दु:ख लाग्ने गरेको बताउनु भयो। सबै नेपालीले बुद्धका शिक्षामा केही जानकारी अवस्य राख्नु पर्ने आवश्यक छ।संसारमा सबै धर्मका बीचमा सद्भाव छ। विविध राजनैतिक कारणले मात्र विश्वमा धार्मिक मतभेद भएको पाइन्छ। नेपालमा भने झनै हिन्दु/बुद्धिस्ट बीचमा भाइ,दाइको सम्बन्ध छ भन्नुभयो। धर्म र दर्शन दुई फरक पाटाहरुहुन। धर्म आफ्नो आस्था अनुसार अवलम्बन गर्न सकिन्छ। मानव जीवन कसरी बिताउने भन्ने मार्ग,दर्शनले दिन्छ। दया,माया र करुणाको संदेश संसारका सबै धर्मले दिएको छ।
धार्मिक सहिष्णुता भएमा सबै मानवको कल्याण हुने बताउनु भयो।कर्म गर्नु र सन्तुष्टि लिने गर्दा नै मनमा शान्त हुन्छ।
लोभ र ईष्र्या जागेमा त्यो दु:ख निम्त्याउदछ।अरुको दु:ख देख्दा सहयोगको भावना जागृत हुने,सबैको भलो,सुख चाहनेलाई बोधी चित्त भनिन्छ । कर्म गर्न शरीर,वचन र मन (चित्त )को प्रयोग हुन्छ। यसमा चित्त मूल हो। त्यसैले बुद्ध धर्ममा भनिएको छ चित्त शुद्ध गर।
यदि दु:ख चाहदैनौ भने नराम्रो नगर,कुभलो नचिताउ। आफ्नो मालिक आफै बन,नैतिकता पुर्ण जीवन बाँच भन्ने बुद्धका संदेश,ज्ञानहरुबारेमा उहाँले प्रकाश पार्नुभयो।
उक्त कार्यक्रममा उपस्थितहरु मध्ये उमेश घिमिरे,रजनी आचार्य,नगेस बराल,देव अधिकारीले आफ्नो जिज्ञासाहरु प्रश्नहरु राख्नुभएकोमा खेन रिन्पोछे गेशे ङिमा तामाङ ज्युले अति प्रष्ट र चित्त बुझ्दो पारामा उहाँहरुले नेपालका विभिन्न भागमा बुद्ध धर्मका ज्ञानका प्रवचन दिने गरेको र प्राचीन अन्धविश्वास र कुरितिहरु कम हुँदै गएको,हालै नेपालमा धर्म निरेपेक्ष हुनु पर्ने,यदि त्यसो नभए बुद्धको देश भनेर उल्लेख भएमा मान्यहुने भन्ने अभिव्यक्ति दिंदा धेरैको समर्थन पाएको भनी बताउनु भयो।
त्यस्तै हिन्दु बुद्धिस्ट फाउन्डेसन अफ क्यानडा स्थापना हुनु धेरै राम्रो भएको र भविष्यमा एउटै भवनभित्र एकातिर हिन्दुका देवताहरु र अर्कोतिर बुद्धको मुर्ति स्थापना गरि धार्मिक सद्भावका साथ अगाडी बढ्न सबैलाई सुझाव पनि दिनु भयो।
कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष मधु आचार्यले खेन रिन्पोछे गेशे ङिमा तामाङ ज्युलाई सम्मान स्वरुप खादा र प्लाक प्रदान गर्नुभएको थियो। उहाँले खेन रिन्पोछे गेशे ङिमा तामाङ ज्युको करिब महिना दिनको उत्तर अमेरिका भ्रमण गर्ने क्रममा अमेरिका र क्यानडाका विभिन्न शहरहरुमा बुद्धका संदेशहरु दिंदै विभिन्न कार्यक्रममा सहभागी हुँदै नेपाल फर्कने क्रममा केही दिन अघिमात्रको आफ्नो निमन्त्रणा स्विकार गरि यो कार्यक्रममा सहभागी भइ बुद्धका ज्ञानहरु र संस्थालाई मार्ग प्रदर्शन दिनुभएकोमा धन्यवाद ज्ञापन गर्नु भयो।तस्तै खेन रिन्पोछे गेशे ङिमा तामाङ ज्युसंग सम्पर्क गरि कार्यक्रम सफल पार्न सहयोगी गर्नुहुने शम्भु लामा,विकास लामा र रत्न राई ज्यु लगायत उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
@:-DCNepal.