Tuesday, May 24, 2016
6:45 AM
TBFM
News
No comments
लेखक:- धर्मचन्द्र योन्जन तामाङ ,कोशीपारी काभ्रे ।
२०७३ जेष्ठ ३ गते दिउँसो ३-४ यस्तै समय थियो।एकजना बौद्ध धर्मका गुरु ले फोन गर्नुभयो। केही क्षणको वार्तालाप पश्चात् ८ गते बेथान -८ भ्वाँसा, रामेछापमा एउटा कार्यक्रम छ हजुर अनि हजुरसंग को को जानुहुन्छ जानुपर्छ है भन्नुभयो।
म एकछिन अक्मक्किएँ र जवाफ दिएँ: हुन्छ।
त्यस पश्चात् पनि सामाजिक संजालहरुमा कुराकानी हुँदै थियो।यो कुरा मैले मेरी आदरणीय दिदि नम्रता बम्जन तामाङलाई भोलिपल्ट बिहानै फोन मार्फत व्यक्त गरे अनि दिदि भाइ संगै जानको निमित्त आग्रह गरे। वहाँले प्रत्युत्तरमा समय बाँकी रनै छ आले,सोचुला नि भन्नुभयो। मैले भने हवस् दिदी हुन्छ नि। यसरी नै हामी दिदि र भाइ बीच टेलीफोन र सामाजिक संजालमा कुराकानी भैरहन्थ्यो नै। यसै क्रममा जेष्ठ -७ अपरान्ह ४:३० तिर फोन आयो,मैले गोजिबाट मोबाइल फोन झिके,दिदिको फोन रहेछ,मैले रिसिभ गरे।
दिदिले भन्नुभयो: भाइ दिदिकोमा आउन है दिदिलाई पनि सजिलो हुन्छ, भोलिको लागि जाने तयारी हुन्छ। मेरो सानोठिमी जानुपर्ने काम थियो तर मैले दिदीको वचन हार्न सकिन र ५ -५:१५ मा हान्निए, दिदीको आवासगृह वसुन्धरा काठमाडौं तर्फ। त्यस दिनको हल्का पारिवारिक गफगाफ पश्चात् खाना खाइवरी हामी सबैजना सुत्यौ किन्की भोलिपल्ट सबेरै उठ्नु थियो।
भोलिपल्ट बिहान अर्थात ८ गते बिहान ४:१५ मा लामा गुरुको फोन आयो त्यतिबेला हामी उठेर चिया पिउन थालेका थियौं ।अब चाहिँ सुरसार गर्नु पर्छ भन्नेमा थियौं । फोन रिसिभ गरे,सर कहाँ आइपुग्नुभयो भन्ने प्रश्न थियो वहाँको मैले हामी अब हिड्नै लागेको भन्ने जवाफ दिए।
त्यतिबेलासम्ममा दिदी पनि तयारी भैसक्नु भएको रहेछ,म पनि झटपट तयार भए अनि लामा गुरुको आग्रहम दिदी भाइ बौद्धतिर लाग्यौं।
गाडीमा जादै गर्दा क्रमश: भाइ प्रविण योन्जन तामाङ र साथी आर.के. दोङ तामाङको फोन आयो। वहाँहरु लाई रामेछाप जानका लागि मैले आग्रह गरेको थिए। मैले दुवैजनालाई कोटेश्वरमा जानुहोला,हामी बौद्ध बाट आउदैछौ भने। बौद्धमा हामी ५ बजे ठ्याक्कै पुग्यौं किनकी हामीलाई त्यही समयमा आइपुग्न भनिएको थियो। हामी त्यहाँ गाडीभएको स्थानमा पुग्दा लामा गुरुलगायतका ब्यक्तिहरु आइसक्नु भएको रहेछ।तर थुप्रै ब्यक्तिआउन बाँकी हुबुभएको हुँदा केही समय पर्खन जरुरी थियो र ६ बज्दा नबज्दै वहाँहरु पनि आइपुग्नु भयो। र करिब ६:१५ - ६:३० मा हाम्रो बेथान -८ भ्वाँसा , रामेछापको यात्रा शुरु भयो।
हामी चाबहिल,गौशाला,सिनामंगल,तिनकुने हुँदै कोटेश्वरमा पुग्यौं त्यहाँ पुग्दा प्रविण योन्जन तामाङ र आर.के.दोङ तामाङ आइसक्नु भएको थियो।वहाँहरु लगायतका साथीहरुलाई गाडीमा चढाएर अगाडि बढिरह्यौ। भक्तपुरको सल्लाघारी,र सुर्यविनायकमा रहनुभएका कलाकार साथीहरुलाइ रिसिभ गरेर हामी अगाडि बढ्दै थियौं । सायद ७:४५ भएको हुँदा हो हामी धुलिखेलबाट वि.पि. लोकमार्गतर्फ मोडिदा। केही पर पुगेपछी हाम्रो रिजर्भ गाडी रोकियो।त्यो एउटा विश्राम थियो।एकै छिन विश्राम पश्चात् नागवेली वि.पि. लोकमार्गका दायाँबायाँका हरियाली नियाल्दा नियाल्दै भकुण्डेबेशी आइपुगेको पत्तै भएन। रिजर्भ बस आफ्नै रफ्तारमा गुडिरहेको थियो। दायाँबायाँ रोपिएका मकै खेतिले हाम्रो मन लोभ्याउदै थियो। दाप्चा पुल काटेर केही परसम्म त हरियाली थियो,हल्का रमाइलो अनुभव भैरहेको थियो।
केही समय पश्चात् नेपालथोक पुग्यौं, अलिक पर पुगेर गाडी देब्रे मोडियो। त्यस पछि गाडीले ग्रामीण कच्ची मोटर बाटो पहिल्याउन शुरु गरिसकेको हाम्रो अनुभव थियो। त्यो काभ्रे,सिन्धुली र रामेछाप संगम सिमा दुम्जा रहेछ। जहाँ रोशी र चौरिखोला समेत मिसिएर सुनकोशी अविरल बगिरहेको हुन्छ। त्यहा पुग्दा मलाई एउटा तामाङ गीत सम्झनामा आयो:
रोशी कोसीला झुम्जारी
औशी ला जात्थर दुन्जारी !
जात्थार च्याखाबा होइआङा,
जात्थार छुजिगी आछुजी!!
सेला-सेला ह्राङ ताबा,
खालाङ्री म्राङ्बा ह्राङ ताबा!
दिम खालाङ्री पार्दिजी,
ह्रुअी तिला पार्दिजी !!
चुम्हिसे च्याजी एदान होअी,
कुटुम्ब हिन्सम जालमाया लाअी !!!
वास्तवमा यो यात्रा जात्रा त थिएन, एउटा अवसर थियो हाम्रो लागि। किनकी ०५२ फागुन १ गते जनयुद्धको सुरुवात भए पनि त्यस दिनदेखि बेथान चौकी कब्जा भन्दा अघिल्लो दिन करिब ११ महिनासम्म नेकपा ( माओवादी )ले कुनै पनि शसस्त्र प्रहरी चौकी र हतियार कब्जा गर्न सकेको थिएन। फागुन १ गते तीनवटा चौकी कब्जा गर्न भए पनि हतियार कब्जा भएको थिएन। यस्तो परिस्थितिले गर्दा अब जनयुद्ध समाप्त भयो भनेर हल्ला गर्नेहरु पनि बढ्न थालेको स्थिति थियो। आन्तरिक रूपमा पनि यस्तो स्थितिले निराशा र पलायनका संकेतहरु जन्माइरहेको थियो।
यस्तो सङ्कट्को घडीमा यानप्रसाद गौतम
'आलोक' को योजना र नेतृत्वमा बेथानमा रहेको प्रहरी चौकी माथी ०५३ पुस १९ गते सफल आक्रमण थियो। यो नै जनयुद्धको पहिलो पूर्ण सफल कारबाही थियो।
यस आक्रमणमा दिलमाया योन्जन,फत्तबहादुर स्माली र तिर्था गौतम जस्ता होनहार युवाहरुले शाहदत प्राप्त गरेका थिए। चौकीमा भएका सबै हतियारहरु कब्जा भएको थियो।
मलाई त्यस्तो ठाँउमा कतिखेर पुग्न सकिएला ? अनि मेरी दिदी दिलमाया योन्जन लगायतका कमरेडहरुलाई श्रद्धाञ्जली अर्पण गर्न पाउछु भन्ने उत्सुकताले मन धक्का फुलेको थियो।
बेथान आक्रमणमा दिलमाया योन्जन साहसपूर्ण तवरले आम जनताका अधिकारका निमित्त दिल लगाएर ज्यानको बाजि थापेर लड्दा-लड्दै शाहदत प्राप्त गरेको लडाइँले जनयुद्धको विकासलाई तीब्र गति प्रदान गर्यो। जनयुद्ध समाप्त भयो भन्ने हल्ला र प्रचारलाई गतिलो जवाफ दियो। जनयुद्धका नेता र कार्यकर्ता तथा समर्थकलाई ठुलो उत्साह प्रदान गर्यो। योद्धाहरुको छापामार युद्धकलाको विकासलाई स्पष्ट बनायो।
हो म त्यही दिलमाया योन्जन तामाङको शाहदत प्राप्त गरेकी ठाँउ बेथान जादै थिए।सुनकोसी नदिमा रहेको अस्थायी पुल तरेर हामी पारी जनकपुर अञ्चल अन्तर्गत पर्ने रामेछाप जिल्लामा पाइला टेक्दै थियौं।कोशी तरेर हल्का माथी उक्लिदै थियो हामीलाई लिएर गएको गाडी,२ स्टेप माथी गए पश्चात् लुभुघाट तर्फ तेर्सियो। तर बीचैमा स्काभेटरले बाटो मर्मत गरिरहेको दृश्य देखियो, गाडी केही समय रोकिने थाहा भएपछि हामी पैदल हिड्यौ लुभुघाट सम्म। लुभुघाट तर्फ हिड्ने क्रममा एउटि बहिनि झुलुक्क झुल्किइन उनी रहेछिन तामाङ मोडल सरिना थिङ तामाङ। हिड्दा हिड्दै सामान्य परिचय संगै केही तस्बिरहरु आ-आफ्नो क्यामेरामा कैद गर्दै अगाडि बढ्यौ। र केहिछिनको पैदल यात्रा पछि लुभुघट पुग्यौं। करिबकरिब १० बज्नै लागेको थियो त्यतिबेला,पेट्मा मुसाहरु पनि आन्दोलित हुँदै थियो।हामी पनि आन्दोलनलाई मत्थर पार्ने योजना सहित एउटा खाजाघरमा छिर्यौ। केही खाएर निस्कियौ।
खाजा खाएर बाहिर निस्कियौ,सडकबाट कोसिपारीको उराठ लाग्दो भिरालो ठाँउ देखियो,काभ्रेको मेच्छे गाविस रहेछ।त्यस लगत्तै गाडीले हर्न बजाउन थाल्यो,वारि लुभुघाटबाट गाडी माथीतिर ह्रैह्रै गर्दै उकालो चढिरहेको अवस्थामा जिवनको परिकल्पना समेत गर्न नसक्ने हरियाली विहिन उराठ भिरपाखाहरु नियालेर हिडिनै रह्यौ।अलिक माथी पुगेपछी बाँसको एउटा सानो प्रवेशद्वार बनाइएको रहेछ, लेखिएको थियो खनियापानी गाविसमा यहाँ हरुलाई स्वागत छ।
हामीले थाहा पायौं कि हामी खनियापानी गाविसमा आइपुग्यौ। मैले एकजना स्थानीयलाई सोधे: अब बेथान आउन कति समय लाग्छ ? जवाफ आयो धेरै समय लाग्दैन,आइपुग्नै लाग्यो। खनियापानी पछि बेथान गाविस पर्दोरहेछ।
केही समयको दौरानमा बेथान गाविसमा पाइला टेकियो। अझै अगाडी बढिरहेको थियो गाडी,करिबकरिब १५ मिनेटमा हामी कार्यक्रम स्थलमा पुग्यौ।सोही कार्यक्रमका लागि गएका थियौं विशेषगरी। तर मनमा सम्झिरहेको थिए दिलमाया योन्जन तामाङ दिदीको शाहदत। यसै घटनाले सत्तामा नकारात्मक प्रभाव परेको थियो।सो घटनाको प्रभाव सत्ता पक्षमा नकारात्मक रुपले पर्नु स्वाभाविक थियो। सत्ता पक्षले जनयुद्ध समाप्त भयो, जनयुद्ध दबाइयो आदि भनेर आफुलाई र आफ्नो पङ्क्तिलाई अलि बढी नै विश्वास्त बनाएको स्थितीले गर्दा यो आक्रमणले धेरै ठुलो मनोवैज्ञानिक प्रहार गरेको थियो।देशभर पुन: एकपटक फेरि लाल आतङ्क छाएको थियो।
खानाको प्रबन्ध मिलाएको रहेछ, खाना खानको लागि गुरु कोसिस लोब्साङज्युले आग्रह गर्नुभयो, हामी त्यस तर्फ लाग्यौं। त्यहाँ जहाँ खानाको प्रबन्ध गरिएको थियो,त्यस घरको अाँगनी भन्दा बाहिरको बारिको बीचमा भर्खरै कोपिला हाल्न लागेको चुवाको बोट रहेछ। मनले फोटो खिच भनिरहेका थियो,मैले दिदी नम्रता बम्जनलाई भने वहाँले भन्नुभयो हो नि खिचम ! क्यामेरामा तस्बिरहरु कैद गरिसके पछि मात्रै हामी खाना खानतिर लाग्यौं। हामी खाना खान तयार भयौं तर दिदीले खाना खानु भएन, मलाई खल्लो लाग्यो।
कार्यक्रम लगभग शुरु हुनै लागिसकेको थियो,एउटा स्वास्थ्य संस्थाको उद्घाटन कार्यक्रम भएकोले स्वास्थ्य शिविर पनि थियो, आम बेथानबासी लगायत आसपासका जनताहरु स्वास्थ्य परिक्षणका लागि लाइन बसिरहेका दृश्यले बेथानमा मानव स्वास्थ्य अवस्था कस्तो रहेछ?
भन्ने कुरा स्पष्ट हुन्थ्यो। त्यही समस्यालाई समाधान गर्नका लागि बौद्ध धर्म गुरु गेसे ङवाङ पाल्देन तामाङले सुनपती भ्वाँसा च्यारिटी मेडिकल सेन्टर पा.लि. दर्ता गर्नु भयो र बुद्ध जयन्तीकै दिन उद्घाटन गर्नु भएको छ। जनयुद्धमा शाहदत हुने दिलमाया योन्जन तामाङ जस्तो कयौं दिलमायाहरुको स्वस्थ्य समस्यालाई समाधान गर्न संस्था सफल रहोस भन्ने शुभकामना व्यक्त गर्दै हामी दिलमायाले शाहदत गरेको ठाँउ बेथानको बारेमा केही अध्ययन गर्नतिर लाग्यौ।
बेथान जहाँ १० वर्षे जनयुद्ध मत्थर भए पश्चात् अर्थात नेकपा माओवादी शान्ति प्रक्रिया आइसकेपछि रास्ट्र संघीय मिसन नेपाल च्याप्टर ( अनमिन) हेलिकप्टर समेत दुर्घटना भएको थियो। जहाँ अनमिनले एउटा पार्क समेत बनाएको रहेछ। त्यसपछी मैले कार्यक्रम स्थल भ्वाँसाको अर्थ खोज्न चाहे। भनिन्छ जहाँ इच्छा, त्यहाँ उपाय! त्यसै क्रममा उदय दोङ तामाङज्युसंग भेट भयो। वहाँका अनुसार आख्खेला क्युअी ( बाजेको पधेरा) को छेउमा ब्वाँसोले आन्द्राभुँडी निकालेर खाएको दृश्य रेन्जेन दोर्जेका जेठा छोराले देख्नु भएपछि त्यसको वर्णन नेपाली भाषामा गर्ने क्रममा ट्युन नमिलेर भ्वाँसा उच्चारण गरेका हुँदा त्यस ठाँउको नाम भ्वाँसा रहन गएको हो। त्यस पश्चात् हाम्रो ध्यान कार्यक्रम तर्फ आकर्षित भयो।
उक्त समयमा गेसे ङवाङ पाल्देन तामाङका पिता मान बहादुर तामाङ बोल्दै हुनुहुन्थ्यो: अब यो उमेरमा मैले यहाँसम्म सिधै गाडी आउने पक्की पुलको आशा गरेको छु ताकी बर्खा मासमा बिमारी परे पनि काठमाडौं लैजान सक्ने अवस्था सिर्जना होस।यसको लागि राज्यले केही सोचोस र एउटा एम्बुलेन्सको सहजे बेथान आइपुग्न सकोस् ।
केही वक्ताहरुले बोले पछि कार्यक्रम सभापति तथा मेडिकलका अध्यक्ष गेसे ङवाङ पाल्देन तामाङले औपचारिक कार्यक्रम विसर्जन गर्नुभयो।तत्पश्चात सांगीतिक कार्यक्रम शुरु भएको थियो। दिदी नम्रता बम्जन र म मोडेल बहिनी सरिना थिङ तामाङको नृत्य प्रस्तुती हेरिसके पछि खाजानास्ताको।निमित्त खाजा पसलतिर लग्यौ। केही समयपछि भाइ प्रविण र आर.के. दोङ तामाङज्यु पनि हामी भएतिरै आउनुभयो र चारै जनाले नास्ता गर्यौ। त्यतिबेला साँझको ६ बजिरहेको थियो तर कलाकारहरुको प्रस्तुति सकिएको थिएन। हामी गाडी राखिएको स्थानमा नै बसिरह्यो।
करिब ७-७:१५ मा अनौपचारिक सहितको सम्पुर्ण कार्यक्रमहरु सक्किए पछि काठमाडौंतर्फ फर्कने सम्पुर्ण ब्यक्तिहरु गाडीमा जम्मा भयौं । सबैजना जम्मा हुन लगभग एक घण्टा लाग्यो। त्यसपछि ८:१५ तिर गाडी स्टार्ट भयो। हामी काठमाडौंका लागि तल दुम्जातिर झर्दै थियौं ।
दुम्जा झर्दै गर्दा मैले मनमनै फेरि पनि दिलमाया योन्जन तामाङलाई सम्झेर र भने दिदी विभेदको अन्त्य गर्नका निमित्त हजुरले विद्रोह गर्नुभयो, त्यस विद्रोहले गर्दा राज्यमा हुने विखण्डनको स्थितीलाई पनि एकीकृत गरेर एउटा समुन्नत नेपाल निर्माण गर्ने सपना साकार हुना नपाउदै हजुरले शाहदत प्राप्ति गर्नुभयो।घरमा १०० जना कामदार राख्ने सामन्तीगरु संग क्षतिपूर्ति नलिएरै जानुभयो। तपाईको।आत्माले चिरशान्ती प्राप्त गरोस्,हजुरलाई यो भाइको भाबपूर्ण श्रद्धाञ्जली !!!
यसरी दिदी दिलमाया योन्जन तामाङ जसले बेथान कारबाहीमा आफ्नो जीवन बेथान र आम नेपाली जनताको हक अधिकार प्राप्त गराउनको निमित्त अर्पण गर्नुभयो। त्यस ठाँउमा मैले पाइला टेक्ने अवसर पाए। मैले दिदीसंग भेटेर परिचय गर्न अपाए पनि दिदीको हड्डी रुपि ढुंगा,मांसपेशी जस्तैतै माटो अनि आत्मारुपी अक्सिजन भेटे बेथानमा। उहाँले भन्नुभएको थियो: कारबाहीमा म मारिए पनि साथीहरुले कारबाही सफल बनाउनु,कारबाही सफल नपारी नफर्कनु । मैले पनि वहाँले साथीहरुलाई भनेझैं मेरो मनको निर्देशन पालना गरे।जुन मनले मलाई एकपटक बेथान पुग्न निर्देशन गरेको थियो।
हामिलाई वि.पि. लोक मार्गमा आइपुग्न झन्डै दुई घण्टा लाग्यो । हामी लाई बेथान,खनियापानी,लुभुघाट लगायतका गाउँ वस्तीहरुले विदा गरिसकेका थियो। त्यसपछिका ठाँउहरुले पनि हामी लाई क्रमश: विदा गरिरहेका थिए। वि.पि. लोक मार्गमा आइपुगे पछि हामी चढेको रिजर्भ गाडी जालमा परेको मृग फुत्किएझै प्रतिघन्टा १०० कि.मिको दरले काठमाडौं तर्फ हुइकियो।
गाडीमा निकै रमाइलो भयो,ख्याल ठट्टा पनि निकै गरियो।भक्तपुर आइपुग्दा यति मिठो गीत बज्यो, त्यो गीतले बेथानको ब्यथा ओकलेझै लाग्यो:
कति सोझो मेरो मन
बिर्सिएर जानेलाई बिर्सनै नजान्ने ।
हो आज त्यतिबेला जनयुद्ध गर्ने नेकपा माओवादिले बिर्सेको छ बेथानलाई, अरु शक्तिलाई त वास्तै छैन तर पनि त्यो घाउ कहिल्यै भुल्न सकेको छैन बेथानले।
जहाँ दिलमाया अझै राज्यले गरेको विभेदका विरुद्ध प्रेतआत्मा बनेर क्रान्तिका आवाजलाई बुलन्द पार्दै छिन् ।
अन्ततः यसरी जादा आउँदा १९० किलोमीटरको यात्रा ११:४५ मा काठमाडौं आइपुगेर समाप्त भयो। दिदी नम्रता बम्जन, बहिनी सरिना थिङ, भाइ प्रविण योन्जन,आर.के. दोङ लगायत यात्राका सम्पुर्ण सहयात्रीहरुलाई धन्यवाद! साथै टिम लाई विशेष धन्यवाद !!!!
तामाङ बौद्ध महासंघ मलेसिया !!!
Related Posts:
Unemployment in Nepal The people who are without any work or job to do are called employment.It refers to lack of work for those who are willing to do.Or simply unemployment means the jobless. No… Read More
The Mahendra Rajmarg The Mahendra Highway, the largest highway in our country extended from Mechi to Mahakali. It does connect the eastern and wes… Read More
तामाङ बौद्ध महासंघ मलेसियाको बुद्ध जयन्ती सम्बन्धि सूचना ! ल्हासो फ्याफुल्ला _______________ ××××××××××××××××××××××××××××××××××× हार्दिक निमन्त्रणा , हार्दिक निमन्त्रणा , हार्दिक निमन्त्रणा , कोष बोम्जन तामाङको Back again with Tamang Flover मलेसियामा बिमोचन हुँदै … Read More
मृगौला पिडित टाशी लामालाई सहयोगको अपिल काठमाडौं । बारा निजगढ नगरपालिका–७ औतारटोल स्थाई घर भएका ६ वर्षीय टासी लामाको उपचारको लागि नेपाली दयालु मनसँग सहयोगको अपिल गरिएको छ । सहयोग गर्न अपिल गरिएको छ । किडुनीमा ट्युमर भई दिल्ली स्थित राजिव गान्धी हस्पिटलमा उपचार… Read More
Cottage Industries in Nepal Production of the Goods on large scale or a small scale by the use of the skills is know as the small scale industry. Industry may be small scale, medium, or large scale. Cottage industries are known as small scale industr… Read More
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment